loader

वरिष्ठ पत्रकार विजय बान्तवाप्रति प्रेस क्लब र जर्नलिस्ट युनियनद्वारा श्रद्धाञ्जली

Image
 

सिक्किमेली पत्रकारिता तथा साहित्य जगत्का वरिष्ठ व्यक्तित्व, ‘हिमगिरी’ नेपाली समाचारपत्रका सम्पादक एवं लेखक-कवि विजय बान्तवाको निधनप्रति प्रेस क्लब अफ् सिक्किम र जर्नलिस्ट युनियन अफ् सिक्किमले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

लामो समयदेखि उपचारको अवस्थामा रहेका बान्तवाको बुधबार बिहान आफ्नो पैतृक थलो पोख्रेबुङनजिकै सेलेम्बुङमा निधन भएको हो। उनको निधनले सिक्किमेली पत्रकारिता तथा नेपाली भाषा-साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको दुवै संस्थाले जनाएका छन्।

यसैबीच, जर्नलिस्ट युनियन अफ् सिक्किमले दिवङ्गत वरिष्ठ पत्रकार बान्तवाप्रति श्रद्धाञ्जली अर्पण गर्न युनियनको कार्यालयमा शोक सभा आयोजना गर्‍यो। सभामा युनियनका अध्यक्ष प्रवीण खालिङ, सल्लाहकार एवं वरिष्ठ पत्रकार भीम राउत, कार्यकारिणी समितिका सदस्यहरू, प्रेस क्लब अफ् सिक्किमका महासचिव, संयुक्त सचिवलगायत पत्रकारहरूको उपस्थिति रहेको थियो। उपस्थित पत्रकारहरूले स्वर्गीय बान्तवाको तस्बिरमा खादा अर्पण गर्दै मौन धारण गरेर श्रद्धाञ्जली व्यक्त गरे।

सभालाई सम्बोधन गर्दै युनियनका सल्लाहकार एवं वरिष्ठ पत्रकार भीम राउतले बान्तवाको निधनले सिक्किमको पत्रकारिता जगत् मर्माहत बनेको बताए। उनले स्वर्गीय बान्तवालाई सिक्किमेली नेपाली पत्रकारिताका आधारस्तम्भमध्ये एकका रूपमा स्मरण गर्दै पत्रकारिताको विकासमा उनले पुर्‍याएको योगदान अमूल्य रहेको बताए।

युनियनका अध्यक्ष प्रवीण खालिङले पनि बान्तवाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरे। उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै स्वर्गीय बान्तवाले सिक्किमको पत्रकारिता क्षेत्रमा पुर्‍याउनुभएको योगदानको स्मरण गरे।

यसैगरी, वरिष्ठ पत्रकार विजय गुरुङले श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारहरूले पत्रकारिताका आधारभूत मूल्य र मान्यतालाई आत्मसात् गरेर आफ्नो जिम्मेवारी निर्वाह गर्नु नै स्वर्गीय बान्तवाप्रति सच्चा श्रद्धाञ्जली हुने बताए।

प्रेस क्लब अफ् सिक्किमका संस्थापक महासचिवसमेत रहेका बान्तवाले राज्यमा पत्रकारिताको विकास, संस्थागत सुदृढीकरण तथा नेपाली भाषा-साहित्यको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए। प्रेस क्लबको स्थापना र विकासमा उनको भूमिका उल्लेखनीय रहेको थियो। पत्रकारितासँगै लेखन र कविताका क्षेत्रमा समेत विशिष्ट पहिचान बनाएका बान्तवालाई उनको योगदानको कदर गर्दै प्रेस क्लब अफ् सिक्किमले  2011 मा कञ्चनजङ्घा कलम पुरस्कारद्वारा अलङ्कृत गरेको थियो।

दुवै संस्थाले स्वर्गीय बान्तवाले पत्रकारिता र साहित्यका क्षेत्रमा दिएका योगदान तथा उनका कार्यहरू नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहने विश्वास व्यक्त गरेका छन्।


Leave a Comment